आकाशभैरव
![](http://chped.net/https/upload.wikimedia.org/wikipedia/commons/thumb/a/a9/Kathmandu-Indra_Chowk-Akash_Bhairab-18-Kopf-Opfer-2015-gje.jpg/260px-Kathmandu-Indra_Chowk-Akash_Bhairab-18-Kopf-Opfer-2015-gje.jpg)
कान्तिपुरको मुख्य भित्री सहरी क्षेत्र वंधः अर्थात् इन्द्रचोकमा अवस्थित हाथु द्यः, आजु द्यः अर्थात् आकाश भैरव अर्थात् आजु द्य वा हाथु द्यःको मूर्तिमा टाउको मात्र रहेको छ । आकाश भैरवलाई किराँतकालीन देवताको रूपमा मानिन्छ । नेवार समुदायले मूलतः आजु द्यःको रूपमा पूजिने यी देवताको वारेमा विभिन्न किंवदन्ती छ । एउटा किंवदन्तीअनुसार यलम्बर भन्ने - किराँती राजाले इन्द्रचोक अर्थात् वंघःमा आफ्नो राजघर बनाएर बसेका थिए । यो कुरा प्राचीन इतिहासमा पनि उल्लेखित छ । आजु द्यःलाई यलम्बरकै प्रतीकका रूपमा नेवारले मान्ने गर्दछन् । अर्को किंवदन्ती अनुसार महाभारतको युद्धमा जाँदा कृष्ण भगवानले छल गरी काटिएको भगवान यलम्बरको शिर प्राचीन टेकुदोभान (हालको इन्द्रचोक)मा नदीछेउमा बसी काम गरिरहेको एकजना ज्यापूले देखेछ सो ज्यापूलाई सपनामा यलम्बर भगवानले भैरवको रूपमा दर्शन दिई मलाई यहीं नै एउटा छाप्रो बनाई राख र तिमीहरूले नै हेरविचार गर भनी भनेछन् ज्यापूले बिहान सबेरै सो शिर भएको ठाउँमा एउटा सानो छाप्रो बनाई यलम्बर भैरवलाई विराजमान गराई पूजाआजा गर्न थाले । त्यसैले हालसम्म पनि इन्द्रजात्राको दिन मन्दिरको तल चोक (सडक)मा एउटा छाप्रो बनाई श्री यलम्बर भैरवलाई बिराजमान गराउने चलन चलि नै रहेको डा. साफल्य अमात्यको 'श्री आकाश भैरवनाथ' पुस्तकमा उल्लेख छ । कतिपय विद्वानहरू काठमाडौँ आदिवासी ज्यापुहरूलाई किराँतीहरूकै वंशजको रूपमा मान्ने गर्दछन् । साथै लिच्छवी राजाले विजय गरेपछि काठमाडौँमा रहेका सबै किराँतीहरूलाई ज्यापु बनाइदिएका थिए भन्ने विद्वानहरूको भनाइ छ । नेपाल भाषामा आजुको अर्थ, बाजे, बराजु वा थकाली हो र द्यःको अर्थ देवता हो । अर्थात यो पुर्खौली देवता हो । काठमाडौँका नेवारहरूमा थकालीलाई मान्ने र पूजा गर्ने चलन अद्यापि छ ।
पूजाको प्रचलन[सम्पादन गर्नुहोस्]
आकाश भैरवका पूजारी परम्परागत टोल वंघः (इन्द्रचोक) का ज्यापू हुन् । यसैले नित्य पूजा देखि वर्षेनी हुने इन्द्रजात्रामा समेत आकाश भैरवको पूजाआदि गरेर आकाश भैरवको मूर्तिलाई चाहिने विभिन्न फूलहरूको बन्दोबस्त गर्ने, फूलमाला गाँस्ने लगायत फूलमालाले सजाउने काम वंघः -इन्द्रचोक) टोलका ज्यापूहरूकै जिम्मामा रहेको छ । आकाश भैरवको मुख्य जात्रा, पूजाआजा इन्द्रजात्राको अवसरमा हुने गर्दछ । यसैले पनि विशेष गरी इन्द्रजात्रा पर्वमा आकाश भैरवलाई बाहिरको छाप्रोमा विराजमान गराएपछि नै आकाश भैरवको मूर्ति विशेष किसिमले सजिने गरेको छ । भाद्र शुक्ल एकादशीको दिनमा आकाश भैरवका गुठीयारहरू मिली भैरवको मन्दिरका तल एउटा खटनुमा छाप्रो बसाउँछन् । त्यही दिन आकाश भैरवका आठ जना गुठीयार मध्येका तर्फबाट आफ्ना नातागोता, छोरी, ज्वाइँ, भाञ्जाभाञ्जीहरूलाई 'आकाश भैरवलाई छायेकेगु (पूजा गर्ने) अवसरमा प्रसाद ग्रहण गर्न निमन्त्रणा गरिन्छ । अर्थात् त्यो दिन सबै आफन्त, नातागोताहरूलाई बोलाएर विशेष भोज खुवाइन्छ । यही दिन नातागोटा, छोरी ज्वाईं आदिले विभिन्न फूलहरू ल्याउँछन् । यिनीहरू सबै मिलेर फूलमाला गाँस्छन् । द्वादशीका राति पुँ अर्थात् चित्रकारहरूले भैरवनाथको मुहारमा रङ्गरोगन गर्छन् । त्यसपछि गुठीयारहरू मिलेर सो मूर्तिलाई बोकेर बाहिर ल्याई एकदिन अगाडि बनाएको छाप्रोमा विराजमान गराइन्छ । ताम्राकारहरूले सो मूर्तिमा गरगहना लगाई दिन्छन् । त्यसपछाडि गुठियारहरूले एकदिन अगाडि गाँसेको फूलमालाहरूले मूर्ति सजाउने काम गर्छन्। इन्द्रजात्राभरि आठ जना पालाहरूले पालैसँग विभिन्न प्रकारका फूल, फूलमाला आदिले मूर्तिले सिँगारी बाजागाजा बजाई आकाश भैरवको पूजा गर्ने काम हुन्छ। हजारौँको सङ्ख्यामा चाहिने यी फूलहरू गुठीयारका नातागोताले ल्याउने र फूलमाला गाँस्न सहयोग पनि प्राप्त हुने भएकोले आठै दिन आकाश भैरव ताजा फूलमालाले सजिएका हुन्छन् । उपत्यकामा भैरवका सयौँ मूर्तिहरू पाइन्छन् । कुनै सशरीर त कुनै टाउको मात्रै भएका । आकाश भैरवको दक्षिणतिर पनि दुईवटा बडेमानका भैरवका मूर्ति छन्। एउटा श्वेत भैरव, जसको अनुहार इन्द्रजात्रामा मात्र हेर्न पाइन्छ त्यस मूर्तिमा भैरवको टाउको मात्र रहेको छ । अर्को काल भैरव, जुन मूर्ति सशरीर उभिएको छ।